राजनीति

राप्रपा विधान संशोधन : दुईपटक भन्दा बढी अध्यक्ष हुन नपाइने


काठमाडौँ — राप्रपामा केन्द्रीयदेखि तलसम्म कुनै पनि समितिमा लगातार दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुन नपाइने भएको छ ।

बुधबार बेलुका बसेको राप्रपा एकता महाधिवेशनको बन्दसत्रले लगातार दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइनेगरी विधान संशोधन गरेको विधान संशोधन तथा सुझाव समितिका एक सदस्यले जानकारी दिए ।

संशोधन गरिएको विधानले जुनसुकै तहको अध्यक्ष पदमा लगातार दुईकार्यकाल भन्दा बढी बस्न पाइँदैन ।’ यस आधारमा अब कोही लगातार दुई कार्यकाल अध्यक्ष भइसकेको छ भने उसले तेस्रोपटक अध्यक्ष पदमा उम्मेदवारी दिन पाउँदैन ।

बुधबार बेलुकाको बन्दसत्रले पार्टीमा बहुमतको निर्णय पारित हुने र फरक विचार पनि राख्न पाइने निर्णय पनि गरेको जानकारी दिए । उनले भने, ‘बहुमतको निर्णय मानिनेछ, तर फरक विचार राख्न पनि पाइन्छ वा नोट अफ डिसेन्ट लेख्ने अधिकार खुला राखिएको छ।’

राप्रपाको बन्दसत्र जारी छ । अहिले राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पेस गर्ने तथा छलफल गर्ने क्रम चलिरहेको छ । राप्रपाको एकता महाधिवेशनमा ४६ सय प्रतिनिधि सहभागी छन् ।