काठमाडौँ – २०१९ को मध्यतिरदेखि देखा परेको कोरोना भाइरसले अझै पनि विश्वलाई आक्रान्त पारिरहेको छ । समयसँगै परिवर्तन भइरहने यो भाइरसको नयाँ नयाँ भेरियन्टले मानवीय जीवनमा निकै समस्याहरु पैदा गरेका छन् ।
विगत केही महिनादेखि यसको प्रभाव केही कम देखिए पनि पुन: नयाँ भेरियन्टले विश्वलाई सतर्क बनाएको छ । एक साता अघि दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरियन्टलाई ओमिक्रोन फेला पर्याे । पहिलो पटक देखा परेको यो भेरियन्टलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।
सोमबार डब्ल्यूएचओले यो भाइरस सर्ने जोखिम ‘धेरै उच्च’ रहेको भन्दै चेतावनी दिएको छ । यद्यपि, अहिलेसम्म ओमिक्रोनसँग सम्बन्धित मृत्युको खबर भने आएको छैन । यससम्बन्धी थप अनुसन्धान आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ । ओमिक्रोन आठ दिनको अवधिमा विश्वका कम्तीमा २२ देशमा फैलिसकको छ ।
अहिलेसम्म ओमिक्रोन फेलापरेका देशहरू
एसियाली देशहरू : हङकङ, जापान, दक्षिण कोरिया, इजरायल र साउदी अरेबिया ।
अफ्रिकी देशहरू : दक्षिण अफ्रिका र बोत्स्वाना ।
युरोपेली देशहरू : अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, इटली, नेदरल्यान्ड्स, पोर्चुगल, स्वीट्जरल्यान्ड, स्पेन र बेलायत ।
उत्तर अमेरिकी देश : क्यानडा ।
दक्षिण अमेरिकी देश : ब्राजिल ।
अष्ट्रेलियाली देश : अष्ट्रेलिया ।
हिन्द महासागरमा रहेको फ्रान्सको रियुनियनमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको पाइएको छ ।
प्रतिक्रिया