राजनीति

देउता समान ओली : आफ्नो योजनामा सफल भए, रावल र भुसालले जोगाइदिए लाज (भिडियोसहित)


काठमाडौँ — १०औं राष्ट्रिय महाधिवेशनमा सिंगो पार्टी एकातिर उभिएका बेला भीम रावल, घनश्याम भूसाल र भीम आचार्य जस्ता केही नेताहरु अर्कातिर उभिए । हार्छु भन्ने जान्दाजान्दै चुनाव लडे । जसले एमालेभित्र मौलाएको ‘बा’प्रवृत्तिलाई टक्कर दिएको छ ।

दोस्रोपटकको कार्यकाल गुजार्न भारी मतान्तरले जितेर पनि एमाले अध्यक्ष केपी शर्मा ओली हार महसुस गरिरहेका छन्। हारेर पनि भीम रावल विशाल जितको अनुभूति दर्शाइरहेका छन् । किनकि पार्टीको नेतृत्वमा ओली पुगे पनि एमालेमा विचार र लोकतान्त्रिकविधि भीम रावल, घनश्याम भुसाल र भीम आचार्यहरुको स्थापित भएको छ ।उनीहरु चुनाव जित्न होइन, ओलीको निरंकुशता हराउन चाहन्थे।जसरी हुन्छ चुनाव गराउनैपर्ने अडान रावल–भुसालको थियो । चुनाव हुनै नदिने जिकिर ओलीले गरिरहेका थिए । किनकिआफूलाई सर्वस्वीकार्य र निर्विकल्प करार गर्न ओलीलाई चुनाव जायज लागेन । तर रावलसहितका नेताहरुले आफुलाई हार्ने चुनाव लड्न दिन अनुनय–विनय नै गरिरहेका थिए । दुई हजार बढी प्रतिनिधिको विवेक बन्धक नहोस् भन्ने उनीहरुको चाहना थियो ।

पार्टीभित्र फरक मत राख्ने र आलोचनात्मक चेत भएका रावल–भूसाललगायतका नेता यो महाधिवेशनबाट चुनाव हुँदै किनाराकृत बनेका छन् । जो जति निर्वाचित भएर आएका छन् ती ओलीले बाँडेका सूचीबाट चयन भएका छन् ।ओलीले अघिल्लो महाधिवेशनमा सचिवमा पराजित विष्णु रिमाललाई एक तहमाथि उपमहासचिव र उपमहासचिवमा पराजित शंकर पोखरेललाई एक तहमाथि महासचिवमा र महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई एक तहमाथि उपाध्यक्षको जिम्मेवारी दिएका छन् ।

कुनैबेला ओली शैलीको विरोध गर्ने अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई ओलीकै साहरामार्फत पदाधिकारीमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन् ।तर रावल, भुसाल, भीम आचार्य र टंक कार्कीले चुनाव जितिन्न भन्ने जान्दाजान्दै पनि पदाधिकारीमा भिडेर कुनै व्यक्ति निर्विकल्प र सर्वस्वीकार्य हुँदैन भन्ने मान्यता स्थापित गरेका छन् ।तथापी ओलीले यो महाधिवेशनमा प्रखर आलोचकलाई तह लगाउने मौका भने पाएका छन् । जसलाई ओलीको लक्ष्य प्राप्तिका रुपमा समेत हेरिएको छ ।

एमालेको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को स्पष्ट सन्देश हो, ‘प्रतिस्पर्धाबाट उत्कृष्टता हासिल गर ।’ मदन भण्डारीले कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरण गर्न यस्तो अभ्यासलाई प्रवद्र्धन गर्न जोड दिएका थिए । ओलीले पनि आफू नेतृत्वमा नहुँदापार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि भन्दै चर्काे आवाज उठाएका थिए । सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ भनेर सातौं महाधिवेशनमा प्रस्ताव पनि ल्याए । तर जब आफू नेतृत्वमा आए, त्यसपछि पार्टीभित्रको सामूहिकतामाथि डोजर चलाएर व्यक्ति केन्द्रित शैलीमा अघि बढेका छन् । जसलाई चितवनमा भएको १० औं महाधिवेशनले ताली ठडाएरै वैधानिकता दिएको छ ।