राजनीति

काँग्रेसको प्रदेश अधिवेशनमा आकाँक्षीको लर्को, पौडेल पक्षमा जुटेन सहमति (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन भोलिबाट सुरु हुँदैछ । यससँगै गण्डकी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ । गण्डकी प्रदेशमा पनि केन्द्रकै जस्तो पौडेल पक्षमा एकल उम्मेद्वार तय हुन नसक्दा तीन जनाले उम्म्द्वारी घोषणा गरेका छन् भने संस्थापन पक्षबाट एक जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाली काँग्रेसको प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा गण्डकी प्रदेश सभापतिमा चार जनाले उम्मेद्वारी घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्नेमा एकजना संस्थापन पक्षका छन् भने तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ ।

आकांक्षीमध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेद्वार मानिन्छन् । उनी कास्की काँग्रेसमा १७ वर्षसम्म सभापति बनिसकेका छन् । २०२६ सालमा काँग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षको भऐ । यसअघि उनी रामचन्द्र पौडेल पक्षको रुपमा चिनिन्छन् । यद्यपी उनी सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गर्छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका शर्माले आफूले काँग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताए ।

त्यस्तै कास्कीबाट नै उम्मेद्वारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहको नै हुन् । उनले विद्यार्थी कालदेखि राजनीति शुरु गरेका थिए। तर उनी सांगठानिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्छन् । उनी गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेद्वार बनेपनि पराजित भएका थिए । सभापतिको उम्मेदवार घोषणा गर्दै पार्टीलाई स्वतन्त्ररुपमा अघि बढाउन र गण्डकी प्रदेशमा काँग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताए ।

त्यस्तै तनहुँबाट उम्मेद्वारी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर हुन् । तनहुँका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेकाछन् । उनले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइराला लगायतको आशिर्वाद रहेको बताए । नेता पौडेलले काँग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताए ।

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । उनीसँग काँग्रेसका केन्द्रिय सदस्यसँगै पर्वतको तीन पटक पार्टी सभापति भएर काम गरेका अनुभव छ । उनले देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका छन् । गण्डकी प्रदेश संगठन बलियो बनाउन, काँग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरुले आग्रह गरेकाले अगाडी बढेको उनको भनाइ छ ।

काँग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ । काँग्रेसका नेताहरुको उम्मेदवार छनोट र निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो काँग्रेस बनाउन पूर्व सभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिएका छन् । उनले काँग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि काँग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताए ।

काँग्रेस गण्डकी प्रदेशको चुनावी सर्गर्मी हेर्दा केन्द्रको राजनीतिकै झल्को दिएको छ । संस्थापन इतरका नेताहरु एकजुट हुन नसक्दा गण्डकीमा पनि संस्थापन पक्ष हाबी हुने संकेत देअिएको छ । गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधी गरी करिव २ हजार जनाले मतदान गर्ने छन् ।।