राजनीति

राप्रपाको अध्यक्षमा कसलाई ल्याउन चाहन्छन् कार्यकर्ता ? (भिडियोसहित)


काठमाडौँ — राप्रपामा नयाँ नेतृत्व चयनका लागि यति बेला काठमाडौंमा अधिवेशन चलिरहेको छ । राप्रपाका तीन घटकबीच एकता भएपछि हुन लागेको यो पहिलो महाधिवेशन हो । अध्यक्षका लागि कमल थापा र नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । कार्यकर्ता कसलाई नेतृत्वमा ल्याउन चाहन्छन्् त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी महाधिवेशन बुधबारबाट सुरु भएको छ । महाधिवेशनमा पुरानो र नयाँ पुस्ता प्रतिस्पर्धामा छन् । राप्रपा एकीकरण भएपछि तीन जना अध्यक्ष रहेका थिए । तर, यो महाधिवेशनले एक अध्यक्ष मात्र चयन गर्नेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रिएका छन् । लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गरेका छन् । लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिनुपर्ने भन्दै लिङ्देनलाई समर्थन गरेका हुन् । अर्का अध्यक्ष पशुपतिशम्शेरले भने आफू अध्यक्षको उम्मेदवार नबन्ने भन्दै एकताको महाधिवेशनको पक्षमा रहेको बताइरहेका छन् । यता कतिपय कार्यकर्ताहरुले भने कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको मुद्दा अघि सारेको र अब हिन्दू राष्ट्र ल्याउनको लागि कमल थापा नै अध्यक्ष बन्नुपर्ने दाबी गर्छन् ।

कतिपय कार्यकर्ताहरुले भने पुरानो नेतृत्वबाट राप्रपाको एजेन्डा स्थापित हुन नसकेको कारण अबको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताउछन् । अहिलेसम्म जसले नेतृत्व गरेपनि पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने भन्दै त्यसका लागि युवालाई नेतृत्व दिनुपर्ने कतिपयको भनाई छ ।

कमल थापा यसअघि पनि अध्यक्ष रहेकोले राजेन्द्र लिङ्देनलाई परीक्षण गर्नुपर्नेमा राप्रपाका कतिपय नेताहरुले जोड दिँदै आएका छन् । त्यसो त लिङ्देनलाई पूर्वराजन ज्ञानेन्द्र शाहको पनि सद्भाव रहेको चर्चा छ । नेतृत्वको विषयमा जे जस्ता आँकलन भएपनि यहि साता राप्रपाले नयाँ नेतृत्व पाउने भने निश्चित छ ।