राजनीति

राजेन्द्र लिङ्देन भने : राप्रपा इतिहासमा जीवन रोज्ने कि मृत्यु रोज्ने भन्ने मोडमा पुगेको छ


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका उम्मेदवार राजेन्द्र लिङदेनले आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

बुधबार पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले अहिलेकै अवस्थामा राप्रपा अग्रणी पार्टी बन्न नसक्ने दाबी गरे । देशमा हिन्दू राजसंस्था पुनःस्थापना गरिदिनका लागि नयाँ ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

महाधिवेशन प्रतिनिधिलाई जीवन रोज्ने कि मुत्यु रोज्ने तपाईंहरूकै हातमा रहेको उनले प्रष्ट पारे । ‘म तपाईंहरूलाई आग्रह गर्दछु । जीवन रोज्ने कि मृत्यु रोज्ने, त्यो तपाईंहरूकै हातमा छ’, उनले भने ।

देशको अग्रणी पार्टी बनाउने कुरा कल्पनामा मात्र सीमित रहँदै आएको भन्दै अब समान विचार भएका पार्टीलाई समेत समेटेर अगाडि बढ्ने बताए । दुई अध्यक्षले अग्रगामी निर्णय गरेको भन्दै अगाडि बढ्ने बाटो खोलिदिन कमल थापालाई समेत उनले आग्रह गरे ।

उनले भने, ‘तपाईंहरूको योगदान, भूमिका राप्रपामा अझै पनि चाहिन्छ । तर, कार्यकारिणी भूमिकामा परिवर्तन गर्नुपर्छ । एकचोटि भूमिका फेरेर हेर्नुपर्‍यो ।’

अध्यक्षका प्रत्यासी लिङदेनले बोल्दा कार्यकर्ताले हुटिङ गरेका थिए । कार्यक्रमस्थलमै उनी आउँदा कार्यकर्ताले हुटिङ गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।