राजनीति

महाधिवेशनले मुलुकको नेतृत्व गर्न एमाले सक्षम रहेको सन्देश दिएको भट्टराईको दावी


काठमाडौँ – नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन । नेकपा एमालेका नवनिर्वाचित सचिवद्धय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनले मुलुकको समस्या समाधान गर्नका लागि मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताउनु भएको हो ।

मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रिय कमिटीको पहिलो बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव भट्टराईले मुलुकमा विद्यमान राष्ट्रिय मुद्धालाई राष्ट्र र जनताको हितमा समाधान गर्नेगरी आफ्नो पार्टीले मुलुकमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने सन्देश सो महाधिवेशनले दिएको बताउनु भयो ।

एमालेकी अर्का सचिव पदमा अर्यालले नेपाली जनताका सपनालाई विपनामा परिणत गर्ने शक्ति आफ्नो पार्टी मात्रै भएको सन्देश महाधिवेशनले दिएको बताउनु भयो । नवनिर्वाचित केन्द्रिय सदस्य महेश बस्नेतले पनि यो महाधिवेशनले मुलुकको नेतृत्व लिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको सन्देश दिएको बताउनु भयो ।