राजनीति

सर्वोच्चमा आजदेखि गोला प्रक्रियाद्वारा पेसी तोकिने, प्रधानन्यायाधीशको अधिकार कटौती


काठमाडौँ – सर्वोच्च अदालतमा आजदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । सर्वोच्चका न्यायाधीशहरूको पूर्णबैठकको निर्णयअनुसार आजबाट गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोक्न लागिएको हो ।

सुरुमा न्यायाधीशहरूले गोला तानेर आफ्नो इजलासका लागि सहकर्मी न्यायाधीश छनोट गर्नेछन् । उपस्थित न्यायाधीशको संख्याका आधारमा इजलास टुंगो लागिसकेपछि उक्त इजलासले कुन मुद्दा हेर्ने भन्ने निर्धारण गर्न अर्को गोला तानिनेछ । निर्देशिकाअनुसार सुरुमा बृहत् पूर्ण, त्यसपछि क्रमशः पूर्ण, एकल र संयुक्त इजलास गठन हुनेछ  । गोला तान्न एउटै रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ  । निर्देशिकाअनुसार त्यस्ता गोटीलाई अपारदर्शी थैलीमा राखेर वरिष्ठताका आधारमा न्यायाधीशहरूले एक–एकवटा तान्नेछन्  ।

त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसीक्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाउनुपर्नेछ । जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा पनि रहनेछ  । यसअघि मुद्दाको पेसी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई थियो ।