समाचार

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित चारजनाको मृत्यु


काठमाडौँ – म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा वडासदस्यसहित चार जनाको मृत्यु भएको छ ।

बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेका छन् ।

विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्य हुनुहुन्छ । पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते हुनुभएको छ । उहाँहरुलाई थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।