काठमाडौँ – अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न नेपाल सरकारले पनि तयारी थालेको छ । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको नयाँ भेरियन्ट ओमिक्रोन विभिन्न देशमा फैलिन थालेपछि सरकारले सतर्कता अपनाउन थालेको हो ।
अहिले विश्वभर कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरिरहेको छ । यसलाई मध्यनजर गर्दै नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई सरकारले निर्देशन दिइसकेको छ ।
अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिनेनिर्णय भएको गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए ।
यता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने बारे अध्ययन भइरहेको जनाएको छ । डब्ल्यूएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेका बताएको छ । डब्ल्यूएचओले यो भेरियन्टबिरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको छ ।
सरकारले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुयाउन निर्देशन दिएको छ । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ ।
प्रतिक्रिया