देश

दलहरु धमाधम नेतृत्व चयन गर्दै, नयाँ नेतृत्वबाट जनतालाई छैन कुनै आशा (भिडियोसहित)


काठमाडौँ – संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) र दोस्रो ठूलो दल नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको छ । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । तर, पनि सर्वसाधारण भने नयाँ नेतृत्वबाट कुनै आशा नरहेको बताउँछन् ।

झण्डै चार वर्षअघि तत्कालिन नेकपाको बहुमतको सरकार बनेपछि देशमा स्थायित्व आउने र विकासको कामले गति लिने नागरिकको आशा थियो । तर तीर्न वर्ष पुग्दा नपुग्दै नागरिकको आशामाथि कालो बादल मडारिन थाल्यो । महामारीकै बीच सत्तारुढ दलका नेताबीच कुर्सी जोगाउन र हत्याउन लुछाचुँडी गर्दा नेकपा नै फुट्यो भने अन्नत ओली सरकार पनि ढल्यो । अहिले शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेका छन् । अहिले देश र जनताका लागि विकास र निकास दिने खालको नेतृत्व चाहिएको छ ।

यति बेला नेकपा (एमाले), नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि महाधिवेशन चलिरहेको छ । माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । अहिले जनतालाई काम गर्ने जोस र क्षमता भएका, जनताको दुःख मर्मलाई बुझ्ने खालको नेतृत्व चाहिएको छ । तर दलको नेतृत्वमा पुरानो अनुहार नै आउने भएको कारण जनताले नेताहरुबाट कुनै आशा गर्न नसकिने निष्कर्ष निकालेका छन् ।

कोरोना संक्रमणकोे असरबाट कसरी उत्रिने भन्ने सोच दलहरूसँग देखिएन ।पाँच वर्षका लागि म्याण्डेट पाएकोे तत्कालिन नेकपाले देखाएको रमिताले दलहरूप्रति जनताको विश्वास नै गुमेको छ । यहि अवस्थामा हाल रहेका राजनीतिक दल र तिनका शीर्ष नेताबाट कुनै परिवर्तनको आश गर्न नसकिने जानकारहरु बताउछन् ।

परीक्षण भइसकेका नेताप्रति सर्वसाधारणलाई रुचि नै छैन । सत्ताको बागडोर नसम्हालुन्जेल जनताका लागि भन्ने र सरकारमा पुगिसकेपछि आफ्नै झोली भर्ने प्रवृत्तिको अझै अन्त्य हुन सकेको छैन । त्यसैले जनताले यीनैै नेता फेरि नेतृत्वमा पुगेर मुलुक र जनताका लागि काम गर्छन भनेर रत्तिभर विश्वास गरेका छैनन् ।