काठमाडौँ – जापानले मंगलबारदेखि विदेशीको प्रवेशमा प्रतिबन्ध लगाउने भएको छ । जापानले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै विदेशीमाथि अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेको हो । जापानले हालै मात्र विदेशी विद्यार्थी, व्यवसायी र प्राविधिक तालिम लिनेका लागि यात्रा सहज बनाएको थियो । कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि जापान पछि हटेको हो ।
प्रधानमन्त्री किशिदा फुमियोले सोमबार नयाँ मापदण्ड सार्वजनिक गरेका हुन् । उनले आपत्कालीन उपायको रूपमा विश्वका सबै विदेशीहरूको प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताए । देशमा खराब अवस्था आउन नदिने उद्देश्यले यो कदम चालिएको उनको भनाइ छ ।
प्रधानमन्त्री किशिदाले यी उपायहरू अस्थायी हुने बताएका छन् । विज्ञहरूले नयाँ भेरियन्ट कति खतरनाक छ भनी नबुझ्दासम्म यो मापदण्ड लागु हुने उनले उल्लेख गरे ।
प्रतिक्रिया