राजनीति

नेपाली काँग्रेसको प्रदेश अधिवेशन २ दिन सर्‍यो


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच प्रदेश अधिवेशन २ दिन सार्ने सहमति भएको हो । महाधिवेशन कार्यतालिका अनुसार मंसिर १६ र १७ मा हुने तय भएका प्रदेश अधिवेशनहरू अब १८ र १९ मा हुनेछन् ।

काँग्रेसमा हालसम्म ५२ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । बाँकी रहेका २५ जिल्लाको अधिवेशन सक्न थप समय लाग्ने भएकोले प्रदेश अधिवेशन २ दिन सारिएको हो । बाँके, चितवन, नवलपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवाससिहत प्रदेश २ का ८ जिल्लामा अधिवेशन हुन बाँकी छ ।

प्रदेश २ का अधिकांश जिल्लामा प्रदेश महाधिवेशन प्रतिनिधि चयन नभइसकेको हुँदा २ दिन ढिलो गरेरपनि सबैलाई समेट्न खोजिएको एक नेताले बताए । अब प्रदेश नेतृत्व चयन गर्न मंसिर १८ मा उम्मेदवारी दर्ता र १९ मा निर्वाचन हुनेछ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।