राजनीति

नयाँ नेतृत्वका लागि एमालेको चुनाव आज, अध्यक्षमा कस्को पल्ला भारी कि रावल ?


काठमाडौँ – एमालेको दशौं महाधिवेशन अन्तरगत अध्यक्षसहित विवाद रहेका केही पदमा आज निर्वाचन हुँदै छ । सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष केपी ओलीले अन्ततः प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बन्यो ।

ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचनको वातावरण बनेको हो । एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएपछि ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छान्नुभएको छ । ओलीको प्रस्तावलाई हलले पारित गरेको छ । ओलीले पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची बन्दसत्रबाट अनुमोदन गराउनुभएको छ ।

आइतबार मध्यरातमा शुरुमा बन्दसत्रमा ओलीले विधानअनुसार तीन सय एक केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । दोस्रो चरणमा पदाधिकारीको नाम हलमा पेश गर्नुभएको थियो । ओलीले पेश गरेको सूचिमा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा र सुरेन्द्र पाण्डे हुनुहुन्छ । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमै लड्ने बताएका घनश्याम भुसाल भने ओलीको १९ सदस्यीय पदाधिकारी पर्नुभएको छैन् ।

ओलीले महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुव्वा गुरुङ र विष्णु रिमाललाई ल्याउनुभएको छ । सात सदस्यीय सचिवमा टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्याल पर्नुभएको छ । लेखा आयोगमा पुष्प कँडेल र अनुशासन आयोगमा केशव बडालको नाम पनि हलले अनुमोदन गरेको छ ।