राजनीति

नामावली तयारीमा सकस, असमति रहे चुनावमा जाने


काठमाडौँ – नेकपा एमाले महाधिवेशनमा सर्वसम्मतमा पदाधिकारीको नामावली तयार पार्न सकस भएको छ । पदाधिकारी र केन्द्रीय सदस्यमा आकाङ्क्षी धेरै भएपछि नामावली तयार गर्न सकस भएको हो ।

सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्ने जिम्मा पाएको अध्यक्ष केपी शर्मा ओली अहिले नेताहरुसँग छलफलमा व्यस्त छन् । ओलीले पदाधिकारीहरूसँग समूहगत र एक्काएक्लै भेट गरे पनि सहमति भने जुट्न सकेको छैन । ओलीको आफ्नै खेमाका नेताहरुबीच सहमति जुट्न नसक्दा ओलीलाई सर्वसम्मत गराउन समस्या परेको हो ।

अध्यक्ष पदलाई छोड्ने हो भने दुई ठूला पद वरिष्ठ उपाध्यक्ष र महासचिवमा कुरा मिलाउन ओलीलाई सकस भएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि ओलीका खास नेता ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ रहेका छन् । ओलीले वरिष्ठ उपाध्यक्षका लागि पोखरेलको नाम अघि सारेपनि नेम्वाङले आफ्नो दावी छोडेका छैनन् । नेम्वाङलाई जनजातीका प्रतिनिधिहरुको पनि समर्थन रहेको छ ।

त्यस्तै महासचिवका लागि पनि ओलीका नै निकटतम् पात्रद्वय शंकर पोखरेल र विष्णु पौडेल रहेका छन् । ओलीले पोखरेललाई महासचिवका लागि प्रस्ताव गर्दा पौडेलले भने त्यसमा असहमति जनाएका छन् । पौडेलले आफूलाई १० बुँदे सहमति गरेका नेताले पनि साथ दिने भए पछि महासचिवमा दावी गरेका हुन् ।

यसैबीच सर्वसम्मत हुन नसके, कुनै पदमा कसैको असहमति रहेमा मनोनयन दर्ता गरेर चुनावमा जाने तयारी एमालेको छ ।