देश

एमाले महाधिवेशनमा विदेशी पाहुनाको सन्देश, चीनलगायत दर्जनौ कम्युनिष्ट देशको शुभकामान


काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपालको महत्वपूर्ण वामपन्थी शक्तिको रुपमा एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको बताएको छ । एमालेको १० औं महाधिवेशनमा सन्देश पठाउँदै सीपीसीले यस्तो धारणा राखेको हो । सीपीसी केन्द्रीय कमिटीको तर्फबाट पठाइएको भिडियो सन्देशमा एमाले र अन्य वामपन्थी दलहरूबीचको सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख छ । राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विकास र समझेदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।

यसैविच, टर्कीको भाटन पार्टीका अध्यक्ष डा. डोगु पेरिन्सेकले कोभिड महामारीका कारण प्रभावित भएकाले उपस्थित हुने नसकेको उल्लेख गरेका छन् । साथै महाधिवेशनको शुभकामनाका पनि दिएका छन् । त्यस्तै, भियतनाम कम्युनिस्ट पार्टीले पठाएको शुभकामना सन्देशमा पनि राष्ट्रिय एकता र स्वाधिनतामा एमालेले खेलेको भूमिकाबाट खुसी भएको उल्लेख छ ।

त्यसैगरी, भारतीय कांग्रेस आईका नेता अखिलेश यादव काठमाडौँ हुँदै चितवन पुगेर फर्किएका छन् । बन्दसत्र ढिलो भएका कारण उनी कार्यक्रममा सहभागी हुन सकेनन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पठाएको पत्र छोडेका छन् । त्यस्तै, अल रसियन पोलिटिकल पार्टीका अध्यक्षले देशको सामाजिक आर्थिक परिवर्तनमा योगदान गरेकोमा नेकपा एमालेलाई बधाई दिएका छन् । साथै, नयाँ नेतृत्व संशक्त रूपमा देश विकास र समृद्धको दिशामाअघि बढ्ने विश्वास व्यक्त गरेका छन् । यस्तै, जर्मन सोसियल रूलिङ पार्टीले आफ्नै महाधिवेशन भएकाले महासचिव उपस्थित हुन नसकेको र एमालेको महाधिवेशन सफल होस् भनेर शुभकामना पठाएका छन् ।

यस्तै, सीपीआई लिबरेसन पार्टी भारत विहारका प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताएका छन् । यस्तै, कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता यारा सोसले नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सफलताको शुभकामना दिएका छन् ।