राजनीति

तल्लो तहमा कांग्रेसको गुटगत अराजकता: नेता पिच्छेका गुट क्रियाशील


चौधौं महाधिवेशनमा जुटेका कांगे्रसी नेता कार्यकर्ता यति बेला आन्तरिक प्रतिस्पर्धामा व्यस्त छन् । प्रतिस्पर्धा यति धेरै चुलिएको छ कि गुट वा समूहबाट अलग मतदाता भेट्न मुस्किल छ । आगामी निर्वाचनलाई ध्यानमा राखेर कम्युनिष्ट दलहरु सहमतिका आधारमा महाधिवेशनको प्रयासमा छन् । यता कांग्रेस नेता कार्यकर्ता चाहिँ वडादेखि केन्द्रसम्म विभिन्न गुटमा विभक्त भएका छन् । नजिकिदै गरेको आम निर्वाचनमा काग्रेसमा ंभावनात्मक एकता कायम रहिरहला ? निर्वाचन आयोगको चाहना अनुसार हुने हो भने अबको चार महिनापछि स्थानीय तहको निर्वाचन हुनु पर्छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने राजनीतिक दलहरु आन्तरिक गुटबन्दी मत्थर गर्न महाधिवेशनमै सहमतिको प्रयास गरिरहेका छन् ।

लोकतान्त्रिक पद्धतिको बढी अभ्यास गर्ने नेपाली कांग्रेसमा सहमतिको प्रयासभन्दा पनि वडादेखि नै निर्वाचनको अभ्यास भइरहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा सहमतीको प्रयास भइरहँदा कांग्रेसमा नेतापिच्छेका गुट क्रियाशील भइरहेका छन् । संस्थापन तर्फ शेरबहादुर देउवासँग भिड्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूह, कृष्णप्रसाद सिटौला समूह, विमलेन्द्र निधि समूह क्रियाशील भएको देखिन्छ । महाधिवेशनमा कस्तो परिदृश्य देखिन्छ, अहिल्यै भन्न गाह्रो छ तर कांग्रेस गुटको राजनीतिमा पौडिरहँदा चुनावमा ठूलो माछा चाहिँ अरुले उम्काउन सक्छन् भन्ने टिप्पणी हुँदै आएको छ ।

। कांग्रेस नेताहरु चाहिँ आन्तरिक प्रतिस्पर्धाले निर्वाचनमा प्रभाव नपार्ने र कम्युनिष्ट विभाजनको लाभ कांग्रेसलाई हुँने आँकलन गरिरहेका छन् । लोकतान्त्रिक संस्कारमा हुर्किएका कांग्रेस नेता कार्यकर्ता आन्तरिक प्रतिस्पर्धाको मामिलालाई आम निर्वाचन जोडेर पार्टीलाई क्षति नगर्ने विश्वासमा केही नेता परेको देखिन्छ । चार वर्ष अघि निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजय आगामी निर्वाचनमा उल्टाउने योजनामा कांग्रेस छ । कांग्रेसको सबलता भन्दा पनि अन्य दलको दुर्बलतामा कांग्रेसको नतिजा भर पर्ने विश्लेषण पनि हुने गर्छ ।