राजनीति

गगन र प्रकाशमानको एउटै मञ्चबाट देउवा हराउने अठोट,विकल्प खोज्ने पौडेल पक्ष आफै विकल्पहिन


काठमाडौँ – अबको दुईसातापछि नेपाली काँग्रेसको १४औं महाधिवेशन हुँदैछ ।महाधिवेशन प्रतिनिधि धमाधम छानिएर केन्द्रीय नेतृत्व चयनका लागि तयार छन् । तर महाधिवेशनबाट नेतृत्वको विकल्प खोज्ने दाबी गरिरहेको संस्थापनइतर पक्ष भने आफैभित्र विकल्पविहिन बनेको छ । ०७४ को तीनै तहको निर्वाचनमा पार्टी पराजित भएपछि सभापति शेरबहादुरदेउवालाई नैतिकताका आधारमा राजीनामा दिन वा विशेष महाधिवेशन गर्न पार्टीभित्र संस्थापनइतर पक्षको चर्काे दबाब थियो । तर देउवाले त्यसलाई स्वीकारेनन् । न त उनले चुनावमा हार ब्यहोरेको नैतिक जिम्मेवारी नै लिए ।

कांग्रेसभित्र ध्रुवीकरणको प्रारम्भ यहीबाट उत्कर्षमा पुग्यो । र, यहीबाटै सुरु भएको थियो, १४ औँ महाधिवेशनका लागि मजबुत मोर्चा बनाउने संस्थापनइतर पक्षको प्रयास ।महाधिवेशनमार्फत देउवाको विकल्प खोज्न अहिलेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला एउटै मोर्चामा छन् ।तर देउवाको विकल्प खोज्न त के, देउवाविरुद्ध एक भएर जानएकल उम्मेद्वारीको साझा विकल्प समेत उनीहरुले दिन सकिरहेका छैनन् ।

सभापति देउवाको नेतृत्वकै कारण काँग्रेस मात्र ३० सीटमाखुम्चिएको आरोप लगाउँदै संस्थापनइतर पक्ष विगत दुईबर्षदेखि नै विकल्प खोज्न लागिपरेको छ ।एकै ठाउँमा बस्ने र देउवालाई घेर्ने उनीहरुको रणनीति छ । तर इतरपक्षबाट सभापति दाबी गरिरहेका प्रमुख चार दाबेदारबीचनै एकले अर्काको अस्तित्व स्वीकार्ने संकट देखापरेको छ । फलतः आगामी महाधिवेशनबाट नेतृत्व बदल्ने विषय मुख्य भए पनि इतरपक्षका लागि आच्छुआच्छु परेको छ ।

इतर पक्षमा जस्तै देउवा क्याम्पभित्र पनि गुटहरु छन् । विमलेन्द्र निधि, प्रकाशशरण महत, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड सबैका आ–आफ्नै समूह छन् । यति हुँदाहुँदै पनि निधिबाहिरीएपछि यो गुटको स्वीकार्य नेता देउवा नै हुन् । जबकि इतर पक्षमा सभापतिका दाबेदार असंख्य छन् । त्यसमध्येका चार प्रमुख हुन् । यी चारबीच नै सहमतिका लागि एकअर्कालाई धुप हाल्दाहाल्दै सबै बिच्किने अवस्था बनेको छ । जसले आगामी महाधिवेशनमा इतर पक्षबाट साझा प्रतिनिधित्व लिएर जाने विषयमा संकटपूर्ण बनेको छ ।