राजनीति

प्रचण्ड कायर, ओली छुच्चो, चितवन महाधिवेशनले प्रमाणित गरेको दरार


काठमाडौँ – मूल प्रवाहका राजनीतिक दलहरुको महाधिवेशनमा मुख्य दलका शीर्ष नेताहरु सहभागी हुनुलाई सामान्य राजनीतिक संस्कार मान्ने गरिन्छ । तर शुक्रबार नेकपा एमालेको महाधिवेशन उदघाटन समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निम्तो समेत पाएनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएनन् ।

यसलाई कठोर अनुशासनको स्कुलिङ कायम गर्न खोज्ने नेपालका कम्युनिष्ट दलहरुले राजनीतिक संस्कार भुल्दै गएको टिप्पणी भइरहेको छ ।नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि बेला कुनै कसर बाँकी राखेका छैनन् । तमाम आलोचना र मनमुटाव बिर्सिदै प्रधानमन्त्री देउवा शुक्रबार चितवन पुगे र एमालेको महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाएर सहकार्य गर्न ओलीलाई सजग पनि गराए । विचार र सिद्धान्त एउटै बनाएर एउटै आदर्शबाटमाथि उठेका पुष्पकमल दाहाल प्रचण्डले भने ओलीसहितको मञ्च छल्न खोजे ।अध्यक्ष प्रचण्डले निम्तो अस्वीकार गर्नुलाई विश्लेषकहरुले कायरतासँग जोडेर टिप्पणी गरेका छन् । एमाले महाधिवेशनमा उपस्थित नभए पनि प्रचण्डले अर्कै मञ्चबाट महाधिवेशनलाई धार्मिक जमघट अर्थात कुम्भमेलासँग तुलना गरे । उनले ओलीलाई माओवादी सिध्याउन चौतर्फी घेराबन्दीमा क्रियाशील भएको आरोप पनि लगाए ।

झण्डै चार बर्ष अघिपार्टी एकता गर्दै नेकपा बनाएका ओली–प्रचण्डले ‘आफुलाई पाइलट र नेकपालाई दुई पाइलटले उडाएको जेटहो’ भन्दै व्याख्या गर्थे । तर गतबर्षको फागुन २३ मा नेकपानामको जेट सर्वाेच्चको आदेशबाट पुरानै स्थितिमा फर्किएपछि अहिले दुई नेताको गति र गन्तव्य फरक परेको छ ।

दुई शीर्ष नेतासँग अहिले आ आफ्ना दल छन् । दुवै दलका नेतादेखि कार्यकर्तासम्म आरोप प्रत्यारोपमा उत्रिएका छन् । ओली र प्रचण्ड एकै मञ्चमा समेत अटाउन नसक्ने स्थितिमा पुगेको यसपटकको एमाले महाधिवेशनका क्रममा त्यो प्रमाणित नै भयो । दुई पार्टी पूर्ववत अवस्थामा फर्किएको बर्ष दिन बित्न लाग्दासमेत उनीहरुको आपसी सत्तोसराप सकिएको छैन । ओलीका लागि यति बेला शेरबहादुर देउवाभन्दा प्रचण्ड–माधव नेपाल बढी आलोचनायोग्य छन् भन्ने लागेको उनको अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।

गएको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड चितवनको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । संयोग वा योजना के हो भन्न सकिन्न, एमालेले यहि क्षेत्रमा आफ्नो महाधिवेशन तय गर्यो । आफ्नै निर्वाचन क्षेत्रमा भएको महाधिवेशनमा प्रचण्ड गएनन् । प्रचण्ड पुत्री रेणु दाहाल भरतपुर महानगरको मेयर छिन्, महाधिवेशनस्थल महानगरभित्रै थियो । उनी पनि महाधिवेशन उदघाटन समारोहमा देखा परिनन् । ओलीको शाब्दिक आक्रमण पिता–पुत्री दुवैमा देखियो ।