काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब पहिलो जित निकालेको छ । च्यासलले विभागीय टिम एपीएफ क्लबलाई १–० गोलले हराएसँगै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
च्यासलको जितमा रुमेश बर्तौला नायक भए । उनले खेलको ४९ औँ मिनेटमा गरेको एक मात्र निर्णाक गोल नै च्यासललाई जित्नका लागि पर्याप्त भयो । जितसँगै च्यासलले महत्वपूर्ण तीन अंक प्राप्त गरेको छ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग पराजित भएको थियो ।
एपीएफको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३–२ गोलले पराजित भएको थियो ।
आजै बेलुका पौने पाँच बजे मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दैछन् । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । हिमालय शेर्पाले संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
प्रतिक्रिया