राजनीति

सहमति जुटाउने ओलीको प्रयास विफल


काठमाडौँ — नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति जुटाउन गरेको प्रयास असफल भएको छ ।

शनिबार बन्दसत्र सुरु हुनुअघि उनले सौराहास्थित होटल पार्क सफारीमा आफू निकटका नेताहरुसँग बसेर छलफल गरेका थिए । तर, आकांक्षीहरुले आफ्नो दाबी नछाडेपछि सहमति प्रयास असफल भएको हो ।

सहमतिमा पदाधिकारी चयन गर्ने भनिएको भए पनि आकांक्षीहरु धेरै भएकाले शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले विधानमा केही संशोधन गरेको थियो ।

जसअनुसार पदाधिकारीको संख्या १५ बाट बढाएर १९ पुर्‍याइएको थियो । तर, लामो समयदेखि ओलीलाई साथ दिँदै आएका नेताहरुले नै दाबी नछाडेपछि ओलीलाई अप्ठ्यारो परेको हो । वरिष्ठ उपाध्यक्षमा ओली निकट नेताहरु सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ। नेम्वाङ र पौडेल तथा पोखरेलद्वयको अघोषित समूह बनिरहेको छ ।

सहमति नजुटेपछि अध्यक्ष ओली बन्दसत्रस्थलमा पुगेका छन्। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र पौने १ बजेसम्म पनि सुरु भएको छैन ।