राजनीति

बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत जुटाउन ओलीको प्रयास जारी


काठमाडौँ — चितवनमा शुक्रबारदेखि जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनको प्रक्रिया (बन्दसत्र) सुरु भएको छ ।

अब बन्ने केन्द्रीय कमिटीसहित पार्टीका सबै संरचनामा सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा आलीले भगीरथ प्रयत्न गरिरहेका छन् । अहिले पनि आलीले शीर्ष तहका नेताहरूसँग छलफल गरिरहेका छन् ।

यसअघि मध्यराति बसेको एमालेको साविक केन्द्रीय कमिटीको बैठकबाट आलीले सर्वसम्मती गराउन पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्दै विधान संशोधन प्रस्ताव पारित गराएका छन् । तर त्यो प्रस्ताव आज हुने बन्दसत्रले अनुमोदन गर्यो भने मात्र कार्यान्वयन हुनेछ ।

नयाँ प्रस्तावअनुसार साविक विधानबमोजिम पदाधिकारी संख्या १५ बाट बढाएर १९ पुर्‍याइएको छ । २र२ जना उपमहासचिव र उपाध्यक्ष थपिएको हो । आफ्नै समूहका नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि अध्यक्ष केपी शर्मा ओलीले सबै समेट्ने प्रयासअनुरूप पदाधिकारी थप्ने निर्णय गराएका हुन् ।

त्यस्तै शुक्रबार मध्यरातिको बैठकले केन्द्रीय कमिटी पनि २२५ सदस्यीयबाट ३०१ सदस्यीय बनाउने तथा पोलिटब्युरो कमिटी पनि ब्युँताउने निर्णय गरेको छ । पोलिटब्युरोमा ९९ जना सदस्य रहनेछन् भने ४५ स्थायी स्थायी कमिटी यसअघि नै छ ।

बैठकले अध्यक्षदेखि सबै पदाधिकारी र केन्द्रीय समिति पनि सर्वसम्मत चयन गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । तर ओली आफैंलाई पुनः अध्यक्षमा सर्वसम्मत हुन चुनौती छ ।

कारण महाधिवेशन उद्घाटनअघि नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका उपाध्यक्ष भीम रावलले शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप्दै सर्वसम्मत जुटाउने निर्णय गरिसक्दा पनि अडान छाडेका छैनन् ।

स्रोतका अनुसार ओलीले आफू अध्यक्ष, ईश्वर पोखरेल र सुवास नेम्वाङमध्ये एक जना वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेल र शंकर पोखरेलमध्ये एक जना महासचिव बनाउने तयारी छ । यी सबै आफू पक्षकै नेता भएकाले ओलीलाई पदाधिकारी व्यवस्थापन गर्न गाह्रो भइरहेको हो ।

यस्तै माओवादी केन्द्रबाट गएका रामबहादुर थापा बादल समूहकाले पनि ४ पदाधिकारी दाबी गरेको छ । तर पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ । ​