राजनीति

एमाले महाधिवेशनको भव्य उद्घाटन, शुभकामना मन्तव्यमा कुन नेताले के भने ? (भिडियोसहित)


काठमाडौँ — नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा विभिन्न दलका नेताहरुले भौतिक रुपमा उपस्थित रहेर शुभकामना दिएका छन् ।

नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरु सहभागि थिए । शुभकामना मन्तव्यमा कुन दलका नेताले के भने त ?

महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई जनताले स्मरण गरिरहने बताए । थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको बताए । त्यस्तै लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताए ।

उनले २०६३ सालको राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव पनि दिए ।त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकोमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिए ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै यादवले संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने बताए । एमाले महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित भएनन् । पार्टीको तर्फबाट उपस्थित नेता लीलामणि पोखरेलले कम्युनिष्ट आन्दोलन पुनः एकताको दिशामा जानुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु मिलेर हासिल गरेको उपलब्धी रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी आएको बताए । त्यसैगरी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको बताए ।

देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरे । नेपालका राजनीतिक दलहरूले मिलेरै संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै देउवाले राजनीतिक असहमतिहरूको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्ने बताए ।