राजनीति

मेरो खुट्टा तान्नेहरु प्रधानमन्त्री देउवाको खुट्टा समात्दैछन्, काम गर्न अफ्ठ्यारो छ कि ? : ओली


काठमाडौँ — नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्नेहरु अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातेर बसेको बताएका छन् ।

चितवनको नारायणी किनारमा पार्टीको १०औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधनका क्रममा ओलीले पुष्कमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति लक्षित गर्दै यसो भनेका हुन् । ‘अहिलेको सरकारबारे म केही भन्दिनँ । प्रधानमन्त्रीलाई मञ्चमा राखेर मैले सरकारबारे बोल्नु उचित हुँदैनु, उनले भने, ‘प्रधानमन्त्री त काम गर्न चाहनु हुन्छ जस्तो लाग्छ तर प्रधानमन्त्रीलाई काम गर्न अफ्ठ्यारो छ कि ?’

‌ओलीले आफ्नो खुट्टा तान्नेहरु अहिले देउवाको खुट्टा समातेर बसेको पनि बताए । ‘मलाई अफ्ठ्यारो पार्ने, खुट्टा तान्नेहरु प्रधानमन्त्रीको खुट्टा समातिरहेका छन्’, उनले भने, ‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ र बाँकी विकासका काम पनि पूरा गर्छ ।’