राजनीति

ओलीले भने – अन्तरिक्ष पनि हाम्रो हो, अब हामी स्याटेलाइटबाट पनि काम गर्नेछौँ


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब अन्तरिक्ष र स्याटेलाइटबाट पनि काम गर्ने दावी गरेका छन् ।

चितवनमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै ओलीले आफू सरकारमा भएको बेला पहिलोपटक अन्तरिक्षमा नेपालले आफ्नो स्याटेलाइट पठाएको दावी गरे । ओलीले भूपरिवेष्ठित मुलुकको रुपमा रहेको नेपाललाई भूजडित नेपालको अवस्थामा पु¥याएको बताए ।

ओलीले भने ‘हामीले नेपाल विकास गर्ने मात्र भनेका छैनौँ नेपालको अवधारणा नै परिवर्तन गरेका छौँ । हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो । समुन्द्रमा हामी पुग्न सकेका छैनौं तर म साथीहरुलाई स्मरण गराउन चाहन्छु, हामीले धर्तीको अर्व छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ । त्यसमा सफलता पाएका छौं । अब ठूलो उपयुक्त साइजको भूउपग्रह अन्तरिक्षमा पठाउनेछौँ । अन्तरिक्ष पनि हाम्रो हो ।’

एमाले अध्यक्ष ओलीले अगाडि भने–‘जमिनमुनी पनि तार बिच्छ्याउने काम गरेका छौँ, फोर जि बिच्छ्याका छौँ । अब त्यतिमात्र हैन अन्तरिक्षबाट स्याटेलाइटबाट काम गर्नेछौँ । स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि अरुले लिएको हाम्रो मार्ग हामीले आफ्नो बनाएका छौँ ।

अब हामीसँग अन्तरिक्षमा पनि हाम्रो स्थान छ । म साथीहरुलाई भन्न चाहान्छु अन्तरिक्षमा पनि नेपालले आफ्नो दावी र अस्तित्व कायम गरिसकेको छ ।’