राजनीति

संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याउन एमालेले बहुमत ल्याउनुपर्छ : अध्यक्ष ओली


काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । पार्टीको १०औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनहरूमा बहुमत ल्याउनका लागि तयारी गर्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

संसद् पुनःस्थापना गरेर सरकारबाट गलत ढंगबाट बाहिरिनु परेको भन्दै त्यसलाई सच्याउनका लागि बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो । ‘जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ । यो देशका लागि हो, एमालेका लागि होइन । देश बनाउन, सार्वभौम सत्ताको रक्षा गर्नका लागि, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वयनका लागि एकल बहुमत ल्याउनुपर्छ,’ओलीले भने- विधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नकालागि एमालेले बहुमत ल्याउनुपर्छ ।’

प्रतिनिधिसभा विघटन गरेपछि जनतामा जाउँभन्दा अन्य राजनीतिक दलहरूले नमानेको पनि ओलीको भनाइ थियो । उनले परमादेशको बाटो नभई जनादेशको बाटोमा जाउँ भन्दा अन्य राजनीतिक दलले नमानेको उल्लेख गरे । ‘गलत बाटो नजाउँ, अध्यादेश परमादेशको बाटो नजाउँ, परमादेशबाट सरकार नबनाइ बरु जनताका बीचमा जाउँ भनेर आग्रह गरेका थियौ,’ओलीले भने, ‘जनताका बीचमा जान अरु राजनीतिक शक्तिहरू त्रसित भए । जनताका बीचमा जाने प्रयासलाई रोकियो ।’