राजनीति

नीतिगत विमतिलाई संवैधानिक विधिमार्फत टुङ्ग्याउनुपर्छ : प्रधानमन्त्री देउवा


काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्ने प्रस्ट पार्दै नेकपा एमालेलाई उक्त मान्यतामा प्रतिबद्ध हुन आह्वान गरेका छन् ।

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘हामीबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ । ‘सरकार र कांग्रेस ती मूल्य र मान्यतामा प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।

नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर बनेको देउवाले स्मरण गराए । संविधान संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूको भएको पनि देउवाले बताए । ‘नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

फरक(फरक विचारका व्यक्तिहरू भएकाले नै विभिन्न राजनीतिक दल भएको तर लोकतान्त्रिक मूल्य र जीवन्ततालाई, व्यक्तिगत स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउनका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा समान धारणा बनाएर सहकार्य गर्नुपर्ने आवश्यक छ’ ।

जनताले विगतमा जस्तो दुःख भोग्न नपरोस् भनेर सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाको आह्वान थियो ।