राजनीति

कमल थापाले भने – यी दुई कामका लागि ओली र एमालेलाई मुलुकले सम्झिरहनेछ


काठमाडौँ — राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने बताएका छन् ।

एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको बताए । त्यस्तै लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताए ।

‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ । पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो ।

दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ’, थापाले भने । उनले २०६३ सालको राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव पनि दिए ।