विदेश

कोइला खानीमा भएको दुर्घटनामा परी रुसमा ५२ जनाको मृत्यु, दर्जनौ घाइते


काठमाडौँ – रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको छ । बीबीसीकाअनुसार यो रुसको लागि पछिल्लो एक दशकयताकै सबैभन्दा ठूलो खानीमा देखिएको संकट हो ।

समाचारमा उल्लेख गरिएअनुसार खानीभित्र बाहिरको हावा जाने ठाउँमा आगलागी भएको थियो । जसको कारण निसास्सिएर भित्र रहेका मजदुरहरुको मृत्यु भएको हो । २८५ जना काम गरिरहेको लिस्टभ्यज्नाया खानीमा दुर्घटनापछि मानिसहरु भागेका थिए । केमेरोभो क्षेत्रमा रहेको यो खानी राजधानी सहर मस्कोबाट ३५ सय किलोमिटर टाढा पर्छ । अधिकारीहरुका अनुसार दुर्घटनामा परी ४९ जना घाइते भएका छन्। उनीहरुमध्ये चारजनाको अवस्था गम्भीर छ ।

दुर्घटनापछि खानीमा ठूलो मात्रामा मिथेन ग्यास निस्किएसँगै अहिले उद्धार कार्य रोकिएको अधिकारीहरुले बताएका छन् । यसबाट खानीमा विष्फोट हुन सक्ने आशंका गरिएको छ । यसअघि खानीमा फसेका मानिसको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको थियो । खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।