राजनीति

चितवनमा एमाले महाधिवेशन सुरु,यसरी हुँदैछ उद्घाटन


काठमाडौँ – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ । महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन् ।

तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ । महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ । ध्वजापताका टाँगिएका छन् । भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन् । दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ । भरतपुर बजार क्षेत्रमा सडकका डिभाइडरमा पनि झन्डा टाँगिएका छन् । बन्दसत्र स्थल सौराह पनि झकिझकाउ पारिएको छ । होटलमा चहलपहल बढेको छ ।

महाधिवेशनमा सहभागी हुन आएका नेता–कार्यकर्ताको चापका कारण सवारी व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापासहित अन्य दलका नेता आउने एमालेले जनाएको छ ।