राजनीति

पौडेल पक्षको लफडाले देउवा सभापति हुने बाटोमा, देउवा पराजित गर्ने गगनको दाबी (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४औं महाधिवेशन जतिजति नजिकिँदै छ, सभापति शेरबहादुर देउवाविरुद्धको संस्थापनइतर समुहभित्रको दुरी उतिउति बढ्दैछ । जसले साझा उम्मेद्वार बनाएर जाने विषयमा सहमतिको कुनै संकेत देखिएको छैन ।

नेपाली काँग्रेसले ३० जिल्लामा अधिवेशन सम्पन्न गर्दा १६ जिल्लामा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष हाबी भएको छ भने १४ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व लिएको छ ।एक हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधि चयन हुँदा ६ सय ५७ संस्थापन प्यानलबाट र ६ सय ६० पौडेल प्यानलबाट निर्वाचित भएका छन् । अन्य १५ जनामा निधि, सिटौला र कतिपय नखुलेका छन । महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नतिजा हेर्दा पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षलाई ढुक्क हुने स्थिति बनेको छैन । अघिल्लो महाधिवेशनको तुलनामा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा नेतृत्वको संस्थापन पक्षको स्थिति केही सुदृढ देखिएको छ ।

संस्थापनइतर पक्ष एक भएर मैदानमा आए कडा टक्कर पर्ने देखिन्छ ।तर आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने आशातित संकेत देखिएका बेला संस्थापनइतर पक्ष साझा उम्मेद्वार बनाएर जाने कुरामा स्पष्ट देखिदैन ।

साझा उम्मेद्वार बनाएर जान नसक्नु नै आगामी नेतृत्व पनि देउवालाई सहज रुपमा बुझाउनु हो । तर पौडेल पक्षबाट सभापतिको दाबी गरिरहेका प्रमुख चार दाबेदारबीच नै सहमतिको तालमेल मिलेको छैन ।गत भदौ १७ गते नै पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले एक उम्मेद्वार बनाएर जाने घोषणा गरेको थियो । तर महाधिवेशन आउन अब मात्र दुई साता जतिको समय बाँकी रहँदा समेत पौडेल पक्षका उम्मेद्वारबीच सहमतिको साटो झन दुरी बढेको छ । जसले सभापतिबाहेक अन्य पदमा लड्ने आकांक्षीहरु भने सहमति बनाएर जान नसके पार्टी पुनः शेरबहादुर देउवाको हातमा जानेमा ढुक्क छन् ।

पौडेल पक्षको तर्फबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला प्रमुख दाबेदार हुन् ।सबैको एउटै अडान छ, मबाहेक अरुमा सहमति नगरौं । बरु समीकरण त्याग्न तयार तर अर्काेलाई स्वीकार्न तयार नभएपछि साझा उम्मेद्वार बनाएर जाने विषय थप पेचिलो बनेको छ । जसले नेतृत्व परिवर्तनका लागि मताधिकार व्यक्त गर्न चुनिएका महाधिवेशन प्रतिनिधिसमेत कस्तो नेतृत्वलाई मत सुरक्षित बनाउने अन्योलमै छन् ।

महामन्त्री शशांक कोइराला दाजु शेखरसम्मलाई सहमति गर्न र आफ्नो दाबी छोड्न तयार छन् । तर प्रकाशमान सिंह शशांक र शेखर दुवैलाई स्वीकार्न तयार छैनन् । पौडेल भने अरु तीन जनाका बीच सहमति भए आफुपछि हट्न तयार रहेको नभए आफुलाई छोड्न दबाब दिइरहेका छन् । फलतः चार वर्ष अघिदेखि नैदेउवाले कांग्रेस चलाउन नसकेको निष्कर्षका साथ नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएको पौडेल पक्ष अहिले आफै देउवालाई पुनः सभापति बुझाउने बाध्यात्मक अवस्थामा छ ।