समाचार

लैङ्गिक हिंसा : कानून शब्दमा बलियो, कार्यान्वयनमा फितलो (भिडियोसहित)


काठमाडौँ — नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाबिरुद्धको अभियान शुरु भएको छ । अभियानमा सहभागीहरुले महिलाहरुमाथि कुनै पनि लैङ्गिक विभेद हुन नहुनेमा जोड दिएका छन् ।

‘घर र समाजको ऐक्यवद्धता, लैङ्गिक हिंसाबिरुद्ध शुन्य सहनशीलता’ भन्ने नारासहीत नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाबिरुद्धको अभियान २०२१ शुरु भएको छ । बिहीवार काठमाडौंको माईतीघरबाट महिलाको निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज लगायतका संघ–संस्थाहरुले नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाबिरुद्धको अभियान २०२१ शुरु गरेका हुन् ।

अभियानमा सहभागीहरुले महिलाहरुमाथि कुनै पनि लैङ्गिक विभेद हुन नहुने बताएका छन् । उनीहरुले महिला आन्दोलनबाट प्राप्त गरेका अधिकारलाई सम्मान गर्दै आगामी दिनमा अझ बढी संघर्ष गर्नुपर्ने तर्फ सचेत गराउनलाई १६ दिने महिला हिंसाबिरुद्धको अभियान शुरु गर्नु परेको बताए । समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा घरभित्रै हिँसाको विकराल अवस्था सिर्जना भइरहेको पनि उनीहरुको भनाइ छ । कार्यक्रममा सहभागी बनेकाहरुले महिला हिंसाको मुद्दालाई अहिलेसम्म महिलाको मुददको रुपमा मात्रै हेरिएको भन्दै यसलाई समान मुद्दाको रुपमा हेरिनु पर्ने माग गरेका छन् ।

कार्यक्रममा सहभागिहरुले कानून शब्दमा बलियो भए पनि कार्यान्वयनमा फितलो भएको भन्दै महिलाहरुको हक सुरक्षित गर्नका लागि कार्यान्वयनमा लैजान सुझाव दिएका छन् । उनीहरुले कानूनको कार्यान्वयन गरेर महिला हक, हीत र रोजगारी सिर्जना गरेपछि मात्रै महिलाहरु समान हुनसक्ने बताए । समाज परिवर्तन गर्न भनेर लागिरहँदा आफ्नो घर र परिवारमा आफूले महिलाहरुमाथि गरिरहको व्यवहार कस्तो छ भनेर सोच्न र महिलालाई सम्मान गर्दै आफूले पढेका कुराहरु व्यवहारमा लागू गर्न सके समाज परिवर्तन हुन समय नलाग्ने उनीहरुको रहेको थियो ।

नेपालमा लैङिगक समानता बहसको विषय बन्ने गरेको छ । तर महिलाहरुले राज्य र परिवारबाटै समानताको प्रत्याभूति गर्न सकेका छैनन् भने हिंसाको सिकार बनिरहेका छन् ।