खेलकुद

कुवेतमाथि नेपालको फराकिलो जित, ग्लोबल छनोटको सम्भावना कायमै


काठमाडौँ – आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले कुवेतमाथि ९ विकेटको सानदार जित निकालेको छ। दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा आज भएको खेलमा नेपाली महिला क्रिकेट टोलीले कुवेतमाथि फराकिलो जित निकालेको हो ।

कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेटको क्षतिमा भेटायो । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाउँदै २७ रन मात्र बनाउन सकेको थियो ।
नेपाललाई जित दिलाउन इन्दु वर्माले अभिजित १३ र कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाएको थियो । कविता भण्डारीलाई भने मारिया जेस्वीले शुन्य रनमा नै आउट गरेकी थिइन् ।

कुवेतलाई सस्तैमा समेट्न संगीता राईले सर्वाधिक ३ विकेट लिँदा करुणा भण्डारी र रुबिना क्षेत्रीले समान २र२ विकेट लिए। त्यस्तै सरस्वती कुमारीले १ विकेट लिइन्। कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक १० रन बनाउँदा मार्यम ओमरले ७ रन बनाइन्। कुवेतका अन्य सातजना ब्याटरले भने खातामा एक रन जोडन पनि असमर्थ रहे ।
३ खेलबाट ४ अंक जोडेको नेपाल शीर्षस्थानमा उक्लिएको छ भने २ खेलबाट समान ४ अंक जोडेको यूएई दोस्रो स्थानमा छ। यूएईले आज दिउँसो सवा तीन बजे आफ्नो तेस्रो खेलमा भुटानसँग खेल्दैछ। कुवेत भने लगातार तीन खेलमा पराजय ब्यहोर्दै अंकविहीन रहेर तालिकाको पुछारमा छ। नेपालले यसअघिका खेलमा हङकङसँग पराजय ब्यहोरेको थियो भने भुटानलाई हराएको थियो।

नेपालले अब मलेशिया र युएईसँग खेल्न बाँकी छ। नेपाली टोलीले भोली मलेशियासँग र २८ तारिखमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ।