राजनीति

एमाले महाधिवेशनका लागि १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने


काठमाडौँ – नेकपा एमालको १० औं महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । त्यसैको सुरक्षाका लागि भन्दै झण्डै १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

एमालेको सो कार्यक्रममा एक एआईजी र दुई डीआईजीको नेतृत्वमा सुरक्षाको प्रबन्ध मिलाइएको छ । एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीले महाधिवेशनको सुरक्षाको जिम्मा सम्हालेका छन् । उनीहरु आज नै महाधिवेशन स्थल चितवन प्रस्थान गर्ने छन् ।

महाधिवेशनमा नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यसबाहेक पनि चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् । डीआईजी लोहनीले गैँडाकोट क्षेत्रको सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन सबै कार्य पुरा भइसकेको छ । उनी जिल्ला सुरक्षा समितिका अध्यक्ष पनि हुन् । सुरक्षाकर्मीले भीआईपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने जनाएको छ । महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।

यसैबीच केन्द्रीय स्तरका केही नेता हिजै चितवन पुगिसकेका छन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता आज त्यस तर्फ जाँदैछन् ।