राजनीति

सर्वोच्चमा आज फुलकोर्ट बैठक बस्दै, आगामी बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने तयारी


काठमाडौँ – सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्दै छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो ।

बैठकबाट आगामी बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने तयारी रहेको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आउनुभएको थियो । तर गत बिहीबारको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको थियो । गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किएका छन् । तर पनि उनीहरूले जबराको नेतृत्व भने नस्वीकार्ने बताउँदै आएका छन् ।

आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनले जबराको राजीनामालाई बटमलाइन बनाएर विरोधका कार्यक्रमलाई जारी राखेको छ । नेपाल बारलगायत विभिन्न पेसागत संगठनको सहभागितामा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ । दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने छ ।