राजनीति

प्रचण्डको चितवन छट्पटी : ओलीले जिल्ला कब्जा गर्न थाले, सूर्यमा ग्रहण लाग्यो माधव आक्रोशित (भिडियोसहित)


काठमाडौँ — १०औं महाधिवेशनको भव्य तयारीमा रहेको नेकपा एमालेले शुक्रबार चितवनमा महाधिवेशनको उद्घाटन गर्दैछ । तर एमालेको महाधिवेशन चितवनमा हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुख मनाउ गरिरहेका छन् । एमाले महाधिवेशन र चितवन कनेक्सन के होला ?

रोल्पा–रुकुमलाई बेसक्याम्प बनाएर उठेका र चितवनमा साख जोगाइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेको दसौं महाधिवेशनले पोल्नु पोलेको छ । ओलीले देशभरका ७७ जिल्लामध्ये प्रचण्डकै निर्वाचन क्षेत्र चितवनमा भव्य राष्ट्रिय महाधिवेशन गरेपछि आफ्नो साख सिध्याउन लागिपरेको भन्दै प्रचण्डमा छटपटी बढेको हो । फलतः एमाले महाधिवेशनकोप्रभाव रक्षाका लागि प्रचण्डले समेत चितवनमा एकाएकगतिविधिबढाएका छन् ।

चितवनमा आफ्नो पकड गुम्न सक्ने भयकै कारण केहीदिन यता निकै सक्रिय बनेका प्रचण्डले सरकारका मन्त्रीहरु नै लिएर समृद्ध भरतपुरको बहस चलाए भने सुकुम्बासीहरुका बीचमा गएर तत्काल समस्या समाधान गर्ने र लालपुर्जा बाड्ने आश्वासन दिएर आए ।टोलटोलमा पुगेर विकासे योजना लिएर आउने घोषणासमेत गरे ।किनकि प्रचण्डकै गृह जिल्लामा ओलीले पार्टीको महाधिवेशन गर्नुको अर्थ रणनीतिक प्रहार पनि हो ।

सुरुमा बुटवलमा आयोजना गर्ने बताइएको महाधिवेशन प्रचण्डलाई लक्षित गरी चितवनमा सार्ने निर्णय गरिएको थियो ।तथापी प्रचण्डको छटपटीको जवाफ ओलीले मंगलबार दिएका छन् । चितवनमा महाधिवेशन गर्दा चित्त दुखाएका भए आफ्नो निर्वाचन क्षेत्र झापामा गएर महाधिवेशन गर्न ओलीले प्रचण्डलाई चुनौतीसहितको निम्तो दिएका छन् ।

सत्ता बहिर्गमन र पार्टी विभाजनपछि पहिलोपटक हुन थालेको महाधिवेशनचितवनमा गरेर ओलीले विभाजनपछिको असर लुकाउने मात्रै होइन, चितवनलाई आगामी आम निर्वाचनको केन्द्रमा राखेको देखिन्छ । तर प्रचण्डसहितको गठबन्धन एमालेविरुद्ध उभिने पक्का छ । एमालेबाट विभाजित माधवकुमार नेपालसमेत यसमा सामेल छन् । ओलीले तामझामका साथ महाधिवेशन गरिरहँदा उनीभने एमालेको सूर्यमा ग्रहण लागिसकेको दाबी गरिरहेका छन् ।

तीन ठुला कम्युनिष्ट नेता एकले अर्काेलाई कमजोर बनाएर आफु बलियो हुने दाउमा छन् ।आम निर्वाचन सम्मुखमा रहेका बेला उनीहरुका गतिविधिसमेत चुनाव केन्द्रीत बनेका छन् । तर उनीहरुका अभिव्यक्ति र आनीबानी भने राजनीतिक खपतका लागि मात्रै फलदायी मानिएका छन् ।