राजनीति

काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सांसद लामाको घोषणा


काठमाडौँ — नेपाली काँग्रेसका सांसद जिप छिरिङ लामा शेर्पाले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर शेर्पाले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टूल्सको रुपमा प्रयोग गर्न नहुने भन्दै शेर्पाले आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको बताए ।

सांसद लामाले नेता कार्यकर्तासँग भेटघाटका लागि काठमाडौँको महाराजगञ्जमा सम्पर्क कार्यालयको समेत शुभारम्भ गरेका छन् । शेर्पाले आफु दुई पटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेको र वि.स. २०३६ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेर पार्टी र जनताको लागि योगदान दिदै आएको हुनाले पार्टीका नेता तथा कार्यकर्तालाई मत दिन अपिलसमेत गरेका छन् ।

पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने उनको प्रतिवद्धता छ । आफूलाई पार्टीमा भएका युवा र जनसम्पर्कका महाधिवेशन प्रतिनिधिसँगै नयाँले पनि भोट दिने भन्दै शेर्पाले जितको अत्यन्त नजिक भएको दाबी समेत गरेका छन् ।