राजनीति

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा लागु, भोलि फुलकोर्ट बस्दै


काठमाडौँ — सर्वोच्च अदालतमा आगामी मंसिर १५ देखि गोलाप्रथाबाट मुद्दा सुनुवाइ अघि बढाउने निर्णय न्यायाधीशहरुले गरेका छन् । सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुको समूहले मंसिर १५ देखि गोलाप्रथालाई कार्यान्वयनमा लैजाने निर्णय लिएका हुन् ।

गोलाप्रथा कार्यन्वयन गर्ने निर्णय गरको न्यायाधीशहरुबीच बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक राख्ने निर्णय पनि गरेका छन् । यसअघि नै सर्वोच्चमा गोलाप्रथासम्बन्धी नियम लागु गर्नका लागि न्यायाधीशहरु छलफलमा जुटेका थिए ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयनका क्रममा गोलाप्रथा लागु गर्न लागिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित न्यायाधीशहरुको यसअघि बसेको फुलकोर्ट बैठकले गोलाप्रथा कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

सर्वोच्च अदालत नियमावली दोस्रो संशोधन सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ । बिहीबारको फुलकोर्टको निर्णयपछि यो कार्यान्वयन जाने भएको हो ।