राजनीति

सचिवमा उठ्ने तयारी गरेको छु : योगेश भट्टराई


काठमाडौँ – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेदवार रहने घोषणा गरेका छन् । बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने तर अहिले नै माथिल्लो पदमा जान नखोजेको उनले बताए ।

भट्टराईले ‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।’ भट्टराईले अहिलेनै माथिल्लो पदमा जान खोज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भएझैं हुने बताए ।

भट्टराई काठमाडौँमा भएको नवौँ महाधिवेशनमा अध्यक्षमा प्रत्यासी माधवकुमार नेपालको प्यानलबाट प्रतिस्पर्धा गरेर सचिवमा निर्वाचित भएका थिए ।

एमालेको १०औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैंडाकोटतर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए ।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उनले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको जानकारी दिए ।