राजनीति

कलम चम्किरहेको छ, सूर्यमा ग्रहण लागिसक्यो धाक नदेखाए हुन्छ : माधव नेपाल


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहन नपर्ने बताएका हुन्

नेपालले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्न समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताए । ‘समाजवादको दिशामा अघि बढ्नका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ। मैले भन्ने गरेको छु–अब सूर्यको धाक नदेखाए हुन्छ। त्यसमा ग्रहण लागिसकेको छ,’ नेता नेपालले भने।

बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको दाबी गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यहीँ मंसीर १५ गतदेखि सो चिन्हको स्टिकर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान सञ्चालन गर्ने घोषणा समेत गरे ।

‘अब कलम चम्किरहेको छ। सत्य र न्यायको सन्देश दिईरहेको छ । अब मंसिर १५ गतेदेखि स्टिकर वितरण गर्दै आर्थिक सहयोग संकलन गरि घरघरमा हामी जनताको माझमा पुग्ने अभियान सञ्चालन गर्न गईरहेका छौं। यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेका छन । भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ,’ उनले भने ।

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा राखे। उनले मधेश प्रदेश बन्न सक्छ कि, सक्दैनरु भनि स्थानीय सञ्चारकर्मीहरुले सोधेको प्रश्नप्रति इन्कार गर्दै त्यस सम्बन्धमा राजनीतिक दलबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताए ।