राजनीति

ग्रहण लागेको सूर्यले धाक नलगाउन नेपालको चेतावनी


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताउनु भएको हो ।

बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेको दावी समेत गर्नु भयो । अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यही मंसीर १५ गतदेखि सो चिन्हको स्किटर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा समेत गर्नु भयो । उहाँले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढनका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताउनु भयो ।

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा समेत राख्नु भयो । उहाँले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भनि स्थानीय सञ्चारकर्मीहरुले सोधेको प्रश्नप्रति इन्कार गर्दै त्यस सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताउनु भयो ।