राजनीति

न्यायालयको समस्या समाधानका लागि सरकार तयार : प्रचण्ड


काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहलले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताउनु भएको हो ।

प्रचण्डले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरुको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताउनु भयो । अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भएपनि गठबन्धनलाई कुनै ठूलो समस्या सिर्जना हुन्छ भन्नेमा गठबन्धन नरहेको बताउनु भयो ।

अध्यक्ष दाहालले ५ दलीय समन्वय समिति बनाउँदा कतिपयले सरकार भन्दामाथि भएको टिप्पणी गरिरहेको भन्दै समन्वय समिति पार्टीहरुबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताउनु भयो । उहाँले गढबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै अब राष्ट्रियसभामा खालि १९ सिटको चुनाव मिलेर लड्ने पनि बताउनु भयो । अध्यक्ष दाहालले प्रतिनिधिसभाको उपचुनाव र प्रदेशसभाको उपचुनाव भयो भने पनि मिलेर प्रतिष्पर्धा गर्ने बताउनु भयो ।

देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै अध्यक्ष दाहालले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णयहरु सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरुसँग छलफल गरेर मात्र अघि बढाउने बताउनु भयो । उहाँले सुदूरपश्चिम सरकार नढल्ने बताउनु भयो । अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा एमसीसी पास गरिने बताउनु भयो । उहाँले संघीय, प्रादेशिक र स्थानीय निर्वाचन एकै पटक गर्दा राष्ट्रको अर्बौं सम्पत्ति बच्ने भएकोले एकैपटक निर्वाचन गराउने बारेमा छलफल भइरहेको पनि दोहो¥याउनु भयो ।