राजनीति

महाधिवेशन नजिकिएसँगै एमालेमा उम्मेदवारी घोषणा गर्ने होडवाजी (भिडियोसहित)


काठमाडौँ — नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन चितवनको नारायणी नदी किनारमा बडो तामझामका साथ सम्पन्न गर्ने तयारी गरिरहेको छ । महाधिवेशन मिति नजिकिएसँगै विभिन्न पदमा नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । आकंक्षीहरु बढ्दै जाँदा केन्द्रीय नेतृत्व चयन एमालेलाई सकसपूर्ण बन्ने अनुमान गरिएको छ ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आउन अब मात्र दुई दिन मात्र बाँकी छ । वडा र पालिकादेखि महाधिवेशन प्रतिनिधिसमेत अधिकांश स्थानमा सहमतिमा चयन गरेको एमालेले दशौं महाधिवेशनबाट नेतृत्व पनि सहमतिमै चयन गरेर पार्टी एकताको सन्देश दिने दाबी गर्दै आएको थियो । तर महाधिवेशन मिति नजिकिएसँगै विभिन्न पदमा नेताहरुले उम्मेद्वारी घोषणा गर्न थालेपछि सहमतिको वातावरण विग्रिएको छ ।

महाधिवेशनमार्फत पुनः अध्यक्षमा के.पी शर्मा ओली नै दोहोरिने निश्चित भएपनि उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेसँगै निर्विकल्प नेतृत्वमा दोहोरिने ओलीको सपनामा तुषारापात भएको छ । पार्टीभित्रको समीकरण र महाधिवेशन प्रतिनिधि छनौटका आधार हेर्दा रावलको दाबेदारीले ओलीको विजय रोक्न सक्ने अवस्था छैन तथापी एमालेभित्र ओलीको निर्विकल्पतालाई भने तुह्याईदिएको छ ।

पार्टीको १५ पदाधिकारीमा दाबी गर्नेको संख्या थपिदै गएपछि सहमतिमा नेतृत्व चयन गर्ने ओलीको योजनामा धक्का पुगेको छ । ओलीको बोली पर्खेर बसेको नेताहरु महाधिवेशन मिती नजिकिएसँगै विभिन्न पदमा आफ्नो दाबेदारी घोषणा गर्न थालेको छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकारीमा आकंक्षीहरुको लर्को नै लागेको छ । यसले नेतृत्व चयन गर्ने विषय थप पेचिलो बन्ने निश्चित छ ।

अध्यक्ष ओलीलाई पार्टीभित्र अस्तित्वमा रहेका तीन वटा गुट संस्थापन पक्ष, पूर्वमाओवादी समुह र माधव नेपालबाट छुट्टिएर बसेका १० बुँदे सहमतिका पक्षधरलाई मिलाएर अघि बढ्न सहज देखिदैन । नेताहरु आफ्नो पक्षमा लविङ गर्दै विभिन्न पदमा आकंक्षा व्यक्त गर्दै गर्दा सहमतिमा पदाधिकारी छान्ने विषयसमेत एमालेका लागि फलामको चिउरा चपाएसरी हुने पक्का छ ।