राजनीति

काँग्रेसमा युवा उदय, कस्तालाई देलान् मत ?


काठमाडौँ — नेपाली काँग्रेसको महाधिवेशन आउन तीन साता जति समय बाँकी रहँदा महाधिवेशन प्रतिनिधि चयनले तीब्रता पाएको छ । आगामी नेतृत्व चयनमा महत्वपूर्ण मत राख्ने महाधिवेशन प्रतिनिधि कस्ता छन् चासोको विषय बनेको छ । सभापति शेरबहादुर देउवा भने गृहजिल्लाबाट शतप्रतिशत मतका साथ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट शतप्रतिशत मतका साथ महाधिवेशन प्रतिनिधिमा चयन भए । आसन्न १४ औं महाधिवेशनका लागि मतदाता नामावलीको १९ नम्बरमा नाम रहेका देउवाशतप्रतिशत मल ल्याएर महाधिवेशन प्रतिनिधि बनेका हुन् । विगतदेखि नै देउवालाई शतप्रतिशत मत दिएर चयन गरिने भएपनि यसपटक जिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा रिले अनशन बसेका बेला जिल्ला अधिवेशन बनाएर उनी महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

देउवा पत्नी आरजु राणा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । तर केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेल भने काठमाडौं क्षेत्र नम्बर–७ बाट पराजित बनेका छन् । कतै जिल्ला सभापतिदेखि कतै जनप्रतिनिधिहरुसमेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

पूर्वी नवलपरासीबाट उद्योगपति एवम् संघीय सांसद विनोद चौधरी मधेशी, अल्पसंख्यक समुदायको कोटाबाट सर्वसम्मत रूपमा कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका छन् । चौधरी जस्ता धेरै अनुहार महाधिवेशन प्रतिनिधिमा पराजित ब्यहोरेका छन् भने कतिपय स्थानमा युवाहरुको उदय भएको छ ।

महाधिवेशन प्रतिनिधिकै रुपमा सोलुखुम्बुको २१ बर्षिया पुजा फुयाल र उत्तिकै उमेरका विकल राई खोटाङबाट चयन भएका छन् । उनीहरु जस्तै प्रदेश प्रतिनिधिका रुपमा बाग्लुङकी १८ बर्षिया उषा सापकोटा र काठमाडौं–७ बाट सुशान्त आचार्य चयन भएका छन् । उनीहरुको सहभागिताले काँग्रेस जस्तो बुढ्यौली पार्टीमा तरुण सहभागिता दर्शाइरहेको छ । किनकि युवाहरु अघि नआए कांग्रेसको राजनीतिक भविष्यमाथि नै नेताहरु चिन्ता व्यक्त गरिरहेका छन् ।

पार्टीको केन्द्रीय सभापतिदेखि सिंगो कार्यसमिति चयनमा मतदाता रहेका महाधिवेशन प्रतिनिधिको भूमिका निकै निर्णायक हुनेगर्दछ । उनीहरुले व्यक्त गरेको मतकै आधारमा आगामी नेतृत्व चयन हुने भएकाले परिपक्कता देखाउनु पनि उत्तिकै आवश्यकत छ ।