राजनीति

ओलीले जवाफ दिएका सर्वाधिक चासोका पाँच प्रश्न ?माधवलाई निम्तो नदिनु कारण के ?


काठमाडौँ — नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आउन दुई दिन बाँकी रहेका बेला चौतर्फी चासोमा केही प्रश्नहरु छन् । सहमतिमा नेतृत्व चयन कि निर्वाचनबाट? चितवन महाधिवेशनले दिन खोजेको सन्देश केहो ? पार्टी फुटेर कमजोर भएको हो ? माधव नेपाललाई किन निमन्त्रणा गरिएन ? यी प्रश्नहरु उच्च चासोमा छन् । जसको जवाफ ओलीले आज सम्पादकसंगको छलफलमा दिएका छन् ।

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आउन मात्र दुई दिन बाँकी रहेका बेला अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सम्पादकहरुसंग अन्तरक्रिया गरे । महाधिवेशनबाट आउने नेतृत्वको विषयले चौतर्फि ध्यान खिचिरहेका बेला कुराको सुरुवात भने ओलीले, एमालेको महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिसहरु आउने ठोकुवानै गरे ।

मंसिर १० देखि १२ सम्म चितवनको नारायणी तटमा एमालेले भव्य महाधिवेशन गर्दैछ । करिब ५० लाख भन्दा धेरै खर्चिएर दुई तले मञ्च बनाइरहेको एमालेले देशी÷विदेशी अतिथिहरुलाई बोलाएको छ । अस्तित्वमा रहेको सबै राजनीतिक दललाई निमन्त्रणा गरिएको छ । तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई एमालेको निमन्त्रणा छैन । माधव नेपालको पार्टीलाई महाधिवेशनमा किन बोलाउनु भएन भन्ने प्रश्नमा ओलीको जवाफ भने यस्तो छ ।

पार्टी विभाजन भएपछि एमालेभित्रको माधवकुमार नेपाल समुहले फरक पार्टी बनाएको छ । जसलाई ओलीले पार्टी नै नभएको भन्दै निष्काशितहरुको गुट भनेका छन् । तर विभाजनपछि एमाले शक्तिविहिनबन्दै गएको भन्ने पत्रकारको प्रश्नमा ओलीको जवाफ फरक छ ।एमालेसंग प्रतिस्पर्धा गर्ने कुनै शक्ति नभएको बरु माधव नेपाल बाहिरीएपछि एमालेभित्रको ल्याङल्याङ सकिएको ओलीको प्रष्टोक्ती छ ।

एमालेको महाधिवेशन चितवनमा हुने हल्ला चलेदेखि नै अहिलेका मुख्य प्रतिस्पर्धि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छटपटी बढेको थियो । आफ्नै निर्वाचन क्षेत्रमा ओलीले भव्य महाधिवेशन गर्न थालेपछि दाहाल केही हतासिएका थिए ।ओलीले चिवतनमा महाधिवेशन गरेर आफुलाई धक्का दिन खोजेको भन्दै अभिव्यक्ति पनि दिए । तर प्रचण्डकै निर्वाचन क्षेत्रमा महाधिवेशन गर्नुको सन्देश केहो भन्ने पत्रकारको प्रश्नमा ओलीले प्रचण्डसंग कुनै लिनुदिनु नभएको भन्दै आफ्नो निर्वाचन क्षेत्र झापामा गएर महाधिवेशन गर्न प्रचण्डलाई चुनौति दिए ।

सत्ता बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक हुन लागेको महाधिवेशनमा ओलीले एमाले कमजोर नभई सबै खाले घेरा तोड्न सक्षम छ भन्ने सन्देश दिन खोजेका छन् । यसैकारण कोही कसैका विरुद्ध नगई नेतृत्व र पदाधिकारी चयन गर्ने ओलीको चाहना छ । तर ओलीको चाहनामा उपाध्यक्ष भीम रावल बाधक बनेका छन् । अध्यक्षमा ओलीविरुद्ध नै रावलले उम्मेद्वारी घोषणा गरेपछि सर्वसम्मति हुन्छ कि निर्वाचन भन्ने पत्रकारको प्रश्नमा ओलीले सहमतिका लागि आग्रह नगर्ने प्रस्ट्याए ।

एमालेभित्र हाल तीन मनोविज्ञान छन् । ओलीसहितको संस्थापन पक्ष, एमालेमै रहेर असन्तुष्ट बनिरहेको १० बुँदे सहमति कार्यान्वयनको पक्षधर समुह र पूर्वमाओवादी धार । यी तीनै मनोविज्ञानको आकंक्षा र मागदाबीलाई मिलाएर जान ओलीलाई चुनौतीपूर्ण बन्दै गएको छ । यसले आगामी महाधिवेशन सर्वसम्मतिमा नभई निर्वाचनतर्फ धकेलिने देखिन्छ ।