राजनीति

माधव नेपाल पार्टीबाट चोइटिएपछि एमालेमा ल्याङल्याङ सकियो : ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालले पार्टी छोडेर अर्को पार्टी बनाएकोमा राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

ओलीले नेपाल र झलनाथ खनालसहितका नेताहरु चोइटिएर जाँदा राम्रो भएको र अब एमालेमा ल्याङल्याङ सकिएको बताएका हुन् । मंगलबार विभिन्न छापा, अनलाइन र विद्युतीय सञ्चारमाध्यमका सम्पादक सहभागी अन्तर्क्रियामा ओलीले भने, ‘अब एमालेमा ल्याङल्याङ सकियो, एमालेका मतदाता घटेका छैनन् ।’

ओलीले देशको संविधान जारी गर्दा विवाद भएको उल्लेख गर्दै एमालेको नीति र विधान महाधिवेशनमा पास हुँदा कुनै विवाद नआएको बताए ।

‘संविधान जारी गर्दा विवाद थियो तर एमालेको नीति विधान महाधिवेशनमा पास हुँदा विवाद भएन’, ओलीले भने । अबको चुनावबाट एमाले नै बहुमतसहित सरकारमा आउने पनि ओलीले दाबी गरे ।