राजनीति

एमालेको महाधिवेशनको तयारी कसरी भइरहेको छ चितवनमा ?



काठमाण्डौँ – नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम तीब्र रुपमा अघि बढाईको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । कार्यक्रम स्थलमा नक्साङ्कन गरेर काम सुरु गरिएको छ ।

एक सय अतिथि रहने गरी आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ । १६ फिट अग्लो मञ्च निर्माण हुँदैछ । निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुनेछ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने छ । ७२ कलाकारले एकै पटक प्रस्तुति दिन सक्ने गरी मञ्च निर्माण गरिनेछ । मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो हुनेछ ।

उद्घाटन सत्रमा कार्यक्रमस्थलसहित विभिन्न ठाउँमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ । महाधिवेशनमा पाँच लाख मानिस सहभागी हुने लक्ष्यअनुसार सहजै उद्घाटन कार्यक्रम हेर्न सक्ने गरी मञ्च निर्माण भइरहेकाछ । मञ्च व्यवस्थापनका लागि पाँच सय स्वयंसेवक परिचालन गरिनेछ । नदी किनारलाई आकर्षक बनाएर १० गते बिहान मूल आयोजक समितिलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । मञ्च व्यवस्थापनका क्रममा ठाउँ–ठाउँमा सेल्फी प्वाइन्ट समेत बनाइने छ ।

उद्घाटनस्थल निर्माण तथा व्यवस्थापनका लागि चितवनका स्थानीय नेताहरु पनि सहयोगका लागि मैदानमा खटिएका छन् । यही मंसिर १० गते हुने उद्घाटन सत्रमा ५ लाख जनता अट्नेगरी मञ्च व्यवस्थापनका लागि केन्द्रीय कमिटीको टोलीलाई सहयोग गरिरहेको हो ।