राजनीति

भीम रावलको उम्मेदवारी ओलीलाई धक्का !



काठमाण्डौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर रावलले केपी ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

चतवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ । एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । ओली पक्षका नेताहरुले रावलको उम्मेदवारीलाई अनौपचारिक भन्दै अन्तिमसम्म कायम नरहने अपेक्षा गरेका छन् ।

उता रावलले भने आगामी दशौं महाधिवेशनमा अध्यक्ष पदमा आफूलाई समर्थन गर्न केपी ओलीलाई आग्रह गरेका छन् । रावलले पनि टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । तर विगतमा माधव नेपालको साथमा रहेका अन्य नेताहरुले अहिलेसम्म मुख खोलेका छैनन् ।

रावलले उनीहरुसँग छलफल भए पनि प्यानल बनाउन नपाइने भएकाले आफूले एक्लै उम्मेदवारी दिने घोषणा गरेको बताएका छन् । तर माधव नेपालले एमाले छोडेपछि कमजोर बनेका रावलको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।