राजनीति

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयले नै गर्नुपर्छ : देव गुरुङ


काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले न्यायालयमा देखिएको समस्या न्यायालयले नै समाधान गर्नुपर्नेमा सत्तारुढ गठबन्धनको मत रहेको बताउनुभएको छ । सोमबार नेपाल बार एशोसिएसनले न्यायालयमा गरिरहेको आन्दोलनको सन्दर्भमा दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख सचेतक गुरुङले न्यायालयको सुद्धिकरणको सम्बन्धमा सत्तारुढ पाँच दलीय गठबन्धनको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले न्यायापालिकाको स्वतन्त्रता र मर्यादालाई ध्यानमा राखेर समस्यालाई न्यायपालिकामार्फत् नै निकास दिन पहल गरिनुपर्ने गठबन्धन दलको धारणा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘पाँच दलले अस्ती ३० गतेको दिन सरकारमा रहेका पाँच दलकाबीचमा एउटा समझदारी बनेको छ , सहमती बनेको छ । र न्यायपालिकामा उठेका मुद्दाहरुको सन्दर्भमा, कानून व्यवसायी साथीहरुले उठाउनुभएका मुद्दाहरुको सन्दर्भमा, न्यायालयको सुद्धिकरणको सन्दर्भमा गम्भिर रुपमा ध्यानाकर्षण भएको छ । यो न्यायालयमा रहेका समस्या छिटोभन्दा छिटो निकास दिइनुपर्दछ । छिटोभन्दा छिटो संविधान, न्यायपालिकाको स्वतन्त्रता र न्यायपालिकाको मर्यादालाई ध्यानमा राखेर, छिटोभन्दा छिटो न्यायालयमार्फत् नै निकास दिने पहल गरिनुपर्दछ भन्ने दलहरुको अभिमत रहेको छ । त्यसकारणले गर्दा यो विषयमा दलहरु निश्चित रुपले चिन्तित छन् । ध्यानाकृष्ट पनि भएको छ । यो समस्यालाई छिटोभन्दा छिटो समाधान होस् । सम्बोधन होस् । न्यायपालिकाको स्वतन्त्रता, मर्यादा अनुसार छिटोभन्दा छिटो सम्बोधन होस् भन्ने पक्षमा, छिटोभन्दा छिटो निकास होस् भन्ने पक्षमा रहेको छ ।’

उहाँले माओवादी केन्द्र पनि छिटो समस्या समाधान होस् भन्ने कुरामा प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । प्रमुख सचेतक गुरुङले आफ्नो पार्टीले अदालतमा देखिएको समस्यासमाधानका लागि सबैलाई आग्रह गरिराखेको पनि बताउनुभयो ।