राजनीति

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने कानुन राजपत्रमा प्रकाशित


काठमाडौँ – सर्वोच्च अदालतको फुलकोर्टको निर्णयअनुसार गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी कानुन राजपत्रमा प्रकाशित भएको छ । पेसी तोक्ने विषयमा विवाद बढेपछि गत २ मंसिरमा प्रधानन्यायाधीशरहित फुल कोर्टले पेसी तोक्न गोलाप्रथा लागू गर्ने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित भएसँगै यसले कानुनी मान्यता पाएको छ ।

यसअघि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय कार्यान्वयन हुने नहुनेमा आशंका थियो । निर्देशिका अनुसार गोला प्रक्रियाद्वारा बृहत् पूर्ण र पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेछ । गोला तान्न समान रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ ।

त्यस्ता गोटीलाई त्यसपछि अपारदर्शी थैलीमा राखिनेछ र न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एकवटा गोटी तान्नुपर्ने निर्देशिकामा उल्लेख छ ।